Tuesday, November 03, 2020

नेपालमा प्रबल के? भुराजनीति कि आन्तरिक राजनीति?

एउटा प्रचलित प्रश्न छ: चुइंग गम खाने कि हिँड्ने? दुबै थोक एकै साथ गर्ने हो। कुनै पनि देशले विश्व राजनीतिलाई पुर्ण रूपले नकार्न सक्दैन। राजनीतिमा भुराजनीति भनेको भौतिक विज्ञानमा गुरुत्वाकर्षणको शक्ति जस्तो हो। तर अंततः नेपाल जस्तो देश का लागि आंतरिक राजनीति नै प्रबल हुन्छ। यद्यपि भ्रष्टाचारको अवस्था नेपालमा यति सारहो भयावह छ कि विदेशी शक्ति हरुले नेपालमा खेल्ने प्रयास भन्दा पनि कुन चाहिं विदेशी शक्तिले आएर खेलिदेओस भन्दै कुरेर बस्ने चरित्रहरु पार्टी पार्टी भित्र ठुलो ठुलो पदमा बसेका छन। 

अमेरिका र सोवियत संघ बीचको शीत युद्धको समाप्ति एउटा अध्यायको अन्त्य थियो। ९/११ को आक्रमणले नया अध्याय शुरू गर्यो। तर अब अमेरिका र चीन बीचको आर्थिक र राजनीतिक प्रतिस्प्रधाले फेरि नया अध्याय शुरू गरेको छ। शीत युद्धका दौरान तटस्थ बसेको भारत अहिले खुल्लमखुल्ला अमेरिका सँग उभिएको छ। रूस अमेरिका सँग नहुन सक्छ अहिलेलाई तर भारतसँग को मित्रता उसको पुरानो हो। जापान र ऑस्ट्रेलिया त भारत र अमेरिका सँग मिलेर नेटो जस्तो संगठन नै बनाउन चाहन्छन चीन लाई घेर्न। झट्ट हेर्दा लाग्छ चीनले निहुँ नखोजेको छिमेकी नै छैन। यो नेपाल का लागि कठिन अवस्था हो। नेपाल चीनसँग जाने कि भारतसँग? त्यो प्रश्न सोध्ने अवस्थामा नेपाल छैन। नेपाल भुपरिवेष्टित होइन भारत परिवेष्टित देश हो। 

नेपाल भ्रष्टाचार माथि विजय प्राप्त गरेको क्रियाशील लोकतंत्र हुँदो हो त आफ्नो हितका लागि भारत, अमेरिका, चीन, जापान सबै सँग सहयोग लिँदै अगाडि बढ्ने सानो तर चलाक मुलुक बन्दो हो। भ्रष्टाचार मात्र होइन गरीबी नै माथि पनि विजय प्राप्त गरेको देश नेपाल हुँदो हो त यो नया शीत युद्ध जस्तो जस्तो वातावरणमा मध्यस्तकर्ता नै बन्ने आकांक्षा राख्न सक्दो हो। सन १९८९ मा साम्यवाद हार्यो होला तर पुँजीवाद, कमसेकम अमेरिकामा रहेको छाड़ा पुँजीवादले जित्यो भन्ने अवस्था नरहेको भनेर तर्क गर्न सक्दो हो। बहुदल र वाक स्वतंत्रता चीनले पनि मान्नु पर्छ होइन भने चीनको कम्युनिस्ट पार्टी को तौर तरिका वैज्ञानिक छैन भनेर तर्क गर्न सक्दो हो। तर देश अहिले त्यहाँ छैन। यो नया शीत युद्ध को हुरी बतासले जता जता लान्छ उता उता पुगिने एक किसिमको निरिह सोंच व्याप्त छ। 

त्यसैले अहिले नेपालकालागि बाह्य राजनीति भन्दा आंतरिक राजनीति नै प्रबल छ। सन १९८९ मा कांग्रेसले उछालेको बहुदल, सन २००६ मा माओवादीले उछालेको गणतंत्र, सन २००७ मा मधेसीले उछालेको संघीयता जस्तो अहिले जनतामा जनउभार ल्याउन सक्ने ठुलो मुद्दा भनेको भ्रष्टाचार नै हो। सत्ताधारी नेकपा भित्र चल्दै आएको म्युजिकल चेयर को खेल पुरानो पुस्ता थाकेको संकेत मात्र हो। 

भने पछि बिरालोको घाँटीमा घंटी बाँध्ने को? त्यो नेकपा भित्रको दोस्रो पुस्ता होइन। पहिलो पुस्ता सँगै मलामी जाने सोंच भएको त्यो दोस्रो पुस्ता। त्यो नेपाली कांग्रेस होइन। नेकपा जस्तै नेका खुद बिरालो हो। केजरीवालको झंडा नेपालमा गाड्ने प्रयासरत विवेकशील र साझा जस्ता साना पार्टी त गेट बाहिर पनि निस्किन नसकेको अवस्था छ। सीके राउतले विवेकशील र साझा भन्दा निकै बढ़ी गर्न भ्याएका छन, संगठन विस्तार गरेका छन। तर देशै हल्लाउने राजनीतिक कार्यक्रम दिन सकेका छैनन। 

बच्यो को? जनता समाजवादी पार्टी? तेस्रो ठुलो दल भएकै कारणले कोही पहिलो ठुलो दल बन्न पाउँदैन। थुप्रै पटक फुटेर अहिले आएर जुटेको, अनेकन पटक सत्तामा पुगेको संगठन र नेता हरुको जमघट छ जसपामा। तर बजारमा जे जे छ त्यसै मध्ये न रोज्ने हो। 

लोकतंत्रमा आखिर अंतिम जिम्मेवारी जनताकै हुन जान्छ। ओलीले भारतलाई गाली गरेकै कारण न नेपाली जनताले ओलीलाई झण्डै दुई तिहाई दिएका हुन। अनि ओलीले भारतलाई गाली गरेको गर्यै छ त, निहुँ खोजेको खोज्यै छ त। डेलिवर गरेन भनेर कसरी भन्ने? संविधान सभाको व्हिप नलाग्ने जस्तो प्रत्येक नियम तोडेर थोपरिएको संविधान विरुद्ध मधेसमा विस्फोट हुँदा मधेसी क्रान्तिलाई धक्का दिँदै दिँदै बोर्डर मा पुर्याउने तर त्यसको जिम्मेवारी नलिने? चुरे नांगो पारेर मधेसमा बाढीको प्रकोप बढाउने तर जिम्मेवारी नलिने?  

संघीयतामा जानु भनेको केन्द्र सरकारको आकार घट्नु हो। तर नेपालमा केंद्र सरकारको आकार घटेको छैन किनभने संघीयता आएकै छैन। न नक्शा मिलेको छ, न प्रदेश सरकारले पाउनुपर्ने अधिकार पाएको छ। त्यसमाथि बाबुराम भट्टराईले बुढीगण्डकी नामको ब्रम्हास्त्र एकै पटक देउबा, ओली र प्रचण्डको टाउकोमा बजारदा हो न हो यो केजरीवाल ले जस्तो भ्रष्टाचारको मुद्दा उछालने प्रयास हो जस्तो देखियो। 

जनतामा दरो किसिमले जानु अगाडि जसपाले गर्न सक्ने गृह कार्य थुप्रै छ। अर्को चुनावमा नेकपाले बहुमत गुमाउने, कांग्रेस अझै खुम्चिने, सीके राउतको जनमत पार्टी राष्ट्रिय दल बनेर आउने र जसपाले पश्चिमी तराई र पहाड़बाट पनि मनग्गे सीट ल्याउने अवस्था आउन लागेको हो? संघीयताको अपुर्ण मुद्दा र भ्रष्टाचारको नया मुद्दा जसपाले कति बलियो सँग समात्छ त्यो त्यसमा भर पर्छ। 

रह्यो विश्व राजनीतिको कुरा। नेपालले न त भारतलाई चिढ्याउन सक्छ, न त चीनलाई, न अमेरिका न जापानलाई। सकेसम्म सबैसँग सहयोग लिन मिल्ने मध्यमार्गी प्रयास नै नेपालको आफ्नो हितमा छ। तर भारत त नेपालकालागि विशेष हो। त्यो विश्व राजनीतिले स्थापित गर्नुपर्ने सत्य होइन। नेपाल पनि र भारत पनि हजारौं वर्ष देखि एउटै भारतवर्ष हो।